हिमाल, पहाड र केहि भाग तराई क्षेत्र पनि समेटिएको गण्डकी प्रदेश नेपालको मध्यभागमा अवस्थित छ। २७° २६’१५” देखि २९° १९’५०” उत्तरी अक्षाँश र ८२° ५२’४५” देखि ८५° १२’०५” पूर्वि देशान्तर सम्म यो प्रदेश फैलिएको छ। उच्च हिमाली क्षेत्रदेखि तराईको समथर भूभाग समेत समेटिएको यो प्रदेशमा नेपालमा पाईने सबै प्रकारको हावापानी उपलब्ध छ।
नेपालको कूल भू-भागको १४.६७ प्रतिशत अर्थात् २१,९७४ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको गण्डकी प्रदेशमा सविकको गण्डकी अञ्चलका ६, धवलागिरी अञ्चलका ४ र लुम्बिनी अञ्चलको नवलपुर गरी ११ वटा जिल्लाहरु रहेका छन्। प्रशासनिक हिसावले महानगरपालिका १, नगरपालिका २६ र गाउँपालिका ५८ गरी जम्मा ८५ वटा स्थानीय तह र कुल ७ सय ५९ वडा रहेका छन। यो प्रदेशमा विभिन्न ५० वटा भाषाहरू बोलिन्छ (गण्डकी प्रदेश स्थिति पत्र-२०७५)।
गण्डकी प्रदेशको भौगोलिक विवरणः कूल क्षेत्रफलः २१,९७४ वर्ग कि.मि. उच्च हिमाली क्षेत्रः ९,६८२ वर्ग कि.मि. (४४%) उच्च पहाडी क्षेत्रः ४,८३० वर्ग कि.मि. (२२%) मध्य पहाडी क्षेत्रः ६,४८० वर्ग कि.मि. (२९%) शिवालिक क्षेत्रः १,०१३ वर्ग कि.मि. (५%) तराई क्षेत्रः २ वर्ग कि.मि. (०.०१%) स्रोतः गण्डकी प्रदेश स्थिती पत्र- २०७५
कूल ६६२,४८० घरधुरीमा कूल २,४६६,४२७ जना (महिला ५२.५ प्रतिशत र पुरुष ४७.५ प्रतिशत) मानिसहरु यहाँ बसोबास गर्दछन् भने आर्थिक रूपले सकृय जनसङ्ख्या (१५ देखि ५९ वर्ष समूह) को हिस्सा ५७ प्रतिशत छ। जनसाँख्यिक लाभको स्थितिमा रहेको यस अवस्थामा यो उमेर समूहका नागरिकहरूलाई विशेष योजनाका साथ विदेशिनबाट रोक्दै उत्पादनको क्षेत्रमा लगाउने हो भने आर्थिक सामाजिक उपलब्धि हासिल गर्ने अवसर छ। गण्डकी प्रदेशको कूल जनसङ्ख्या को १४.९१ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन्। नेपालको कूल ग्राह्स्थ्य उत्पादनमा गण्डकी प्रदेशको योगदान केवल ८.३२ प्रतिशत मात्र रहेको छ। जसमध्ये कृषिको ११.८ प्रतिशत, उद्योगको १०.६ प्रतिशत र सेवा क्षेत्रको ९.४ प्रतिशत मात्र योगदान रहेको छ। यहाँका नागरिकको प्रतिव्यक्ति सरदर आय १,४३७ अमेरिकी डलर रहेको छ (प्रदेश नीति तथा योजना आयोग, गण्डकी प्रदेश, २०७६)।
विश्वका आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमालहरू मध्ये तीन वटा हिमालहरू (धौलागिरी, अन्नपूर्ण र मनास्लु) यसै प्रदेशमा पर्दछन्। यसका साथै विश्वकै सवभन्दा गहिरो गल्छी (अन्ध गल्छी), अनि नेपालकै एकमात्र शिकार आरक्ष (ढोरपाटन शिकार आरक्ष) पनि यही प्रदेशमा पर्दछ। गण्डकी प्रदेशमा कैयौँ ऐतिहासिक स्थानहरू रहेका छनः ती मध्ये कास्कीकोट, पाउँदुरकोट, ठूलाकोट, र खड्गगाउँकोट, तनहुँसुर, ढोर, ऋसिङ, घिरिङ, मल्जाज, फुर्कोट र गाउँशहर दरबार आदि। त्यस्तैगरी, ऐतिहासिक सहर ल्होमान्थाङ र गुरुङहरूको प्राचीन बस्ती क्होलासोथर (लम्जुङ) पनि यहिँ रहेका छन्। यि समेत गण्डकी प्रदेशमा रहेका ११० स्थानहरुलाई पर्यटकीय गण्तव्यको रुपमा सुचिकृत गरिएको छ।
कूल भूभागको ३७.८ प्रतिशत क्षेत्र प्राकृतिक वन र ९.६ प्रतिशत क्षेत्र वुट्यानले ढाकेको यस प्रदेशमा रहेको वन क्षेत्र मध्ये २९ प्रतिशत क्षेत्र ३,८४४ वटा सामुदायिक वन उपभोक्ता समूह मार्फत् संरक्षण गरिएको छ (क्षेत्रीय वन निर्देशनालय, २०७४)। नेपालकै सबभन्दा ठूलो संरक्षित क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र (७,६२९ वर्ग कि.मि.) यही प्रदेशमा पर्दछ। यो लगायत गण्डकी प्रदेशभित्र अन्य संरक्षित पार्क, वन र संरक्षित क्षेत्रहरू जस्तैः विश्व शान्ति जैविक विविधता पार्क (१.६५ वर्ग कि.मि.), पञ्चासे संरक्षित वन (५७.७६ वर्ग कि.मि.), मनास्लु संरक्षण क्षेत्र (१,६६३ वर्ग कि.मि.), ढोरपाटन शिकार आरक्ष (५,०११ वर्ग कि.मि.), र चितवन राष्ट्रिय निकुञ्ज नवलपुर खण्ड (९५.८५ वर्ग कि.मि.) रहेका छन् (क्षेत्रीय वन निर्देशनालय, २०७४)।
गण्डकी प्रदेश जलसम्पदाका हिसावले नेपालका अन्य प्रदेशहरु भन्दा धनी छ। नेपालमा सबैभन्दा धेरै पानी पर्ने कास्कीको लुम्ले क्षेत्र र सबभन्दा कम पानी पर्ने उपल्लो मुस्ताङ यहि प्रदेशमा पर्दछन। कालीगण्डकी, मोदी, सेती, मादी, मर्स्याङदी, दरौँदी, वुढी गण्डकी, नारायणी, र त्रिशुली आदि महत्वपूर्ण नदिहरुले यहाँको कूल २२०१५.०१ वर्ग कि.मि. जलाधार क्षेत्र समेटेका छन (गण्डकी प्रदेश स्रोत नक्शाङ्कन, २०७५)। त्यस्तैगरी फेवाताल, वेगनासताल, रुपाताल लगायतका निकै धेरै ताल तथा कुण्डहरु यस प्रदेशमा रहेका छन।